प्रकाश मिश्र
कैलाली– बेला बेलामा विवाद र चर्चामा आइरहने कैलालीको घोडाघोडी नगरपालिकामा शनिबार वडा कार्यालयको भवन उद्घाटन गर्न आयोजना गरिएको सार्वजनिक कार्यक्रममै उप प्रमुख प्रेमकुमारी थापा र प्रमुख ममता प्रसाद चौधरीबीच कुटाकुट भएको छ ।
एक अर्काका कारण नगरपालिका बदनाम भएको भन्दै प्रमुख र उपप्रमुख आरोप प्रत्यरोपमा उत्रिएका हुन् । नगरपालिकाको नवनिर्मित वडा नम्बर ७ को भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उपप्रमुख प्रेम कुमारी थापाले भवनको शिलालेखमा आफ्नो नाम उल्लेख नगरेको भन्दै शिलालेखमै ढुंगाले हिर्काइदिइन् ।
शिलालेखको अनावरण गरिरहेका बेला प्रहार भएपछि दुईजनाबीच हात हालाहाल भएको हो । शिलालेखमा प्रमुखको नाम समावेश भएको तर आफ्नो नाम नभएको भन्दै उपप्रमुख आक्रोसित बनेकी हुन् ।
प्रमुखविरुद्ध उपप्रमुख थापाले नाराबाजी गर्दै शिलालेखमा ढुङ्गा र मुक्का प्रहार गरेकी हुन् । कार्यपालिकामा कुनै छलफल नगरी प्मुखले एकलौटी ढंगले आफ्नोमात्र नाम लेख्न लगाएको उनको आरोप छ ।
विवादकैबीच प्रमुख चौधरीले उप प्रमुखका कारण नगरपालिका बदनाम भएको बताएपछि उपप्रमुख थापा थप आक्रोसित बनिन् । यसपछि दुईजनाबीच आरोप प्रत्यारो नै चल्यो ।
यस्तो विवाद किन त रु भन्ने प्रश्नमा नगरप्रमुख ममता प्रसाद चौधरीले अहिलेसम्म भइरहेका कार्यक्रमका नियमअनुसार आफुले उद्घाटन गरेको र यसमा कुनै नयाँ कुरा नभएको बताएका छन् ।