लम्की/ पौष २६
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरमा एउटा समूदायको बस्ती छ । पुर्व पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको यो बस्ती बादी बस्तीका नामले परिचित छ । सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानीदेखि ७ किलोमिटर पश्चिम तथा लम्कीचुहा नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र लम्कीबजारदेखि ६ किलोमिटर पूर्वमा रहेको यो बस्ती आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै पक्षबाट पछाडि पारिएको दलितभित्रको पनि अति पिछडिएको दलित अल्पसंख्यक समुदाय हो ।
विक्रम सम्वत २०६४ साल माघ २६ गतेदेखि देशभरीका २३ जिल्लामा बसोसास गरिरहेका र स्थायी बसोबासको व्यवस्था नभएका बादी समूदायका करिब ७ सय ७५ घरपरिवार यही कैलाली जिल्लाको साविकको बलिया गाविसको वडा नम्बर ९ तथा हालको लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ बल्चौरमा सानो सानो झुपडी बनाएर बस्न शुरु गरेका थिए । त्यतिबेला राष्ट्रिय वनभित्र पर्ने यो बस्तीलाई उठाउनका लागि पनि थुप्रै प्रयासहरु भएको भएपनि अन्तत अहिले उनीहरुको यो बस्ती स्थायी बस्तीका रुपमा परिणत भएको छ । यो बस्तीलाई आफ्नो स्थायी बासस्थान बनाउनका लागि बादी समुदायले धेरै दु:ख र मिहिनेत गर्नु परेको थियो । यस बिचमा कतिपयले राज्यले बस्न दिदैन भनेर बस्ती छोडेर अन्यत्र पनि गैसकेका छन । हाल यो बस्तीमा १ सय ४८ घरपरिवार बस्दै आएका छन ।
अहिले यो बस्तीका स्थानीय र संघीय सरकारले स्थायी बसोबासको मान्यता दिएर बादी बस्तीका लागि जनता आवास कार्यक्रम अन्तर्गत १ सय ४८ घर परिवारलाई नै पक्की मिनि घर निर्माण गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत हालसम्म ४५ घरको निर्माण सम्पन्न भैसकेको छ भने १ सय ३ घर निर्माण हुने क्रममा छन ।
एक दशक अघिदेखि बसोबास गर्दे आएको आफ्नो बस्तीमा सजिलैसंग हिडडुल गर्ने बाटो नहुँदा समुदायलाई सास्ती ब्यहोर्नु परिरहेको थियो । एउटा घरदेखि अर्को घरसम्म जान, हिडडुल गर्न, बिरामी हँुदा एम्बुलेन्स जाने समेत बाटो थिएन । यस वर्ष युएसएडको आर्थिक सहयोगमा तयार नेपाल परियोजना मार्फत ट्रेस नेपाल प्रा.लि.को कार्यन्वयन र लम्कीचुहा नगरपालिकाको सहकार्यमा आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत कोभिड–१९ बाट प्रभावित अति बिपन्न परिवारलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले बस्तीमा बाटोको निर्माण कार्य सम्पन्न भएपछि बादी बस्तीमा खुशीयाली छाएको छ ।
करिब डेढ किलोमिटर लम्बाई क्षेत्रफलमा फैलिएको यो बस्तीमा हालसम्म पनि बाटो बनेको थिएन । बाटो नबनेका कारण समूदायमा बसोबास गर्ने घरपरिवारलाई हिडडुल गर्न एकदमै समस्या रहेको थियो । बस्तीमा बाटो नभएकोले वर्षाको समयमा यहाका बासिन्दाहरुले सास्ती नै व्यहोर्नु परिरहेको थियो । राज्यसंग बादी बस्तीको स्थायी बसोबासकै लागि थुप्रै लडाई लड्नु परेकोले समुदायभित्र बाटो बनाउन नसकिएको बादी अगुवा नन्दाराम बादी बताउनुहुन्छ । तर यसपटक भने युएसएडको आर्थिक सहयोगमा तयार नेपाल परियोजना मार्फत ट्रेस नेपाल प्रा.लि.को कार्यन्वयन र लम्कीचुहा नगरपालिकाको सहकार्यमा आर्थिक पुर्नलाभ कार्यक्रम अन्तर्गत बस्तीको बाटोको योजना छनौट भई बाटो निर्माण भएपछि बस्तीमा बस्ने बादीहरु खुसी भएका छन । यो योजनाबाट बादी बस्तीभित्रको १ किलोमिटर १ सय मिटर बाटोको निर्माणको काम हुदैछ । विगतमा हिलो धुलोमै हिडिरहेका थियौ अब बस्तीमा बाटो बनेपछि आफुहरु एकदमै हर्षित भएको स्थानीय गणेश बादी बताउनुहुन्छ ।
तयार नेपाल तथा लम्कीचुहा नगरपालिकाले आफ्नो बस्तीको बाटोलाई छनौट गरेकोमा स्थानीयहरु एकदमै खुसी भएको पुर्व राष्ट्रिय दलित आयोगकी माननीय सदस्य एवम् सोही बस्तीकी बासिन्दा रमा बादी बताउनुहुन्छ ।
बाटो पहिले नै बन्नु पर्ने थियो तर त्यतिबेला बस्ती पनि अस्थायी भएको हुनाले बाटो निर्माण गर्न नसकेको भएपनि अहिले आएर लम्कीचुहा नगरपालिकाको सहकार्यमा तयार नेपालबाट बाटोको लागि योजना छनौट भएर बाटो निर्माण हुनु यो बस्तीको ठुलो उपलब्धि भएको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ की वडा सदस्य तथा सोही बस्तीमा बसोबास गर्ने पार्बती बादी बताउनुहुन्छ ।
कामका लागि नगद नाम दिइएको उक्त बाटोको योजना मार्फत आफ्नो बस्तीमा बाटो निर्माण हुनुका साथै बाटो निर्माणका लागि ३६ जनाले २० दिन बराबरको रोजगारी पनि पाउने भएपछि आफुहरुलाई एकदमै खुसी लागेको बादी अगुवा ज्ञानबहादुर बादीको भनाई छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउनेले समुदायकै विकास हुने र बिपन्न परिवारले रोजगारी पनि पाउने भएकोले तयार परियोजनाको कार्यक्रम उपलब्धिमूलक रहेको बताउनु भयो । कामका लागि नगद कार्यक्रमले कोभिडबाट प्रभावित तथा रोजगारी गुमाएर काम बिहिन भएका व्यक्ति तथा परिवारलाई छोटो समयका लागि भएपनि रोजगारी सिर्जना भएको वडा अध्यक्ष थापा बताउनुहुन्छ ।
पौष १० गतेदेखि शुरु भएको उक्त बाटोको काम पौष २९ गते सम्पन्न हुने र लम्कीचुहा नगरपालिकाले संगसंगै बाटोमा ग्राभेल गर्ने काम समेत शुरु गरिसकेको ट्रेस नेपाल प्रालिका प्रबन्ध निर्देशक छत्र बमले जानकारी दिनुभएको छ । परियोजना अन्तर्गत नगरपालिकाले योजना छनौट गरेका लम्कीचुहा नगरपालिका वडा नम्बर १, २, ३ र ६ का करिब ६ किलोमिटर बाटो निर्माणको काम सम्पन्न हुन लागेको ट्रेस नेपाल प्रालिका आर्थिक पुनर्लाभ कार्यक्रमका परियोजना प्रबन्धक चक्र बमले जानकारी दिनुभएको छ । नगरपालिकाभरी उक्त कामका लागि २ सय ३ जनाले २० दिनको रोजगारी समेत पाएका छन ।