१० बैशाख २०७८, शुक्रबार / Apr 23, 2021

घुस लिने वन कार्यालय धनगढीका रेञ्जर र अध्यक्ष विरुद्ध मुद्दा दायर

मंगल बास्काेटे
११ चैत्र २०७७, बुधबार ०४:४०
16 Views

 

लम्की ;सेवाग्राहीबाट घुस लिने सब डिभिजन वन कार्यालय धनगढी तारानगरका रेञ्जर रामऔतार चौधरी र घुस दिनमा सहजीकरण गर्ने स्थानीय एक समुदायिक वनका अध्यक्षविरुद्द विशेष अदालतमा मुद्दा दायर भएको छ।

मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट ८० हजार घुस लिने रेञ्जर चौधरी र उनलाई घुस दिनमा बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्द अदालतमा भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार सव–डिभिजन वन कार्यालय, तारानगरले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको थियो। सो काठको मुद्दा मिलाइदिन्छु भनी सोही कार्यालयका रेन्जर चौधरीले सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको थियो। साथै उनलाई रकम दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने सीताराम सामुदायिक वन अध्यक्ष रानालाई पनि सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको मद्दामा नियन्त्रणमा लिएको हो।

विज्ञप्तिमा भनिएको छ, “चौधरीले सेवाग्राहीको मुद्दामा सहजीकरण गरिदिने प्रयोजनार्थ रु. ८०,०००।– घुस÷रिसवत माग गरेको पुष्टि हुनआइ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज चौधरीलाई बिगो रु. ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन र रामप्रसाद राना सीताराम सामुदायिक वन उपभोक्ता समितिको पदमा बहाल रहेको तथा निजले चौधरीको लागि घुस÷रिसवतवापतको रु. ८० हजार लिएको पुष्टि हुन आएको हुँदा निजले समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पुष्टि भएकोले निज रानालाई बिगो रु. ८० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन माग दाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।”

Latest समाचार