लम्की – २७ माघ
लम्की सांगीतिक महोत्सव तथा व्यापार मेला २०८० को पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको छ । शनिबार सामुदायिक रेडियो पश्चिम आवाजको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयव्यय सार्वजनिक गरिएको हो । “ शिक्षा, सूचना विकासको अभियान, कृषि , ब्यापार, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा पुस ५ गते देखि पुस १६ गते सम्म लम्कीमा सञ्चालित महोत्सव अवधिभर कुल ५५ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको कारोबार भएको र करिब १ लाख ५० हजार बढीले महोत्सवको अवलोकन गरेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । महोत्सव बाट १६ लाख ३० हजार ८ सय ३८ रुपैयाँ बराबर बचत भएको महोत्सव मूल आयोजक समितिका उपसंयोजक तथा आर्थिक संयोजक दीपक कुमार तिमिल्सिनाले जानकारी दिए । महोत्सवबाट आम्दानी भएको रकमले रेडियोको स्तरोन्नति, उपकरण खरीद र भवन निर्माणमा खर्च गरिने समेत बताए ।
१२ दिन सम्म सञ्चालन भएको महोत्सवले यस क्षेत्रको कृषि , पर्यटन र व्यापारको क्षेत्रमा समेत प्रर्वद्धन गर्ने कार्य गरेको, सुस्त रहेको व्यापार व्यवसायलाई चलायमान बनाएको महोत्सव मूल आयोजक समितिका संयोजक खडानन्द सापकोटाले बताए । उनले भने सामुदायिक रेडियो सबैको साझा सम्पत्ति समुदायको रेडियो हो । यस रेडियोले सार्वजनिक हित बाहेक अन्य कुरा सोच्न नसक्ने समेत बताए । महोत्सव सफल पार्न सहयोग गर्ने सबै प्रति संयोजक सापकोटाले धन्यबाद समेत व्यक्त गरे ।
“देशकै अर्थतन्त्र शिथिल रहेको अवस्थामा थोरै भएपनि महत्वले अर्थतन्त्र चलायमान बनाएको छ । सबैको सहयोगले सफल पार्न समेत सफल भएका छौं । यस क्षेत्रको सार्वजनिक सम्पत्ति को रुपमा रहेको सामुदायिक रेडियो संरक्षणको भूमिका सबैको उतिकै हुने लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका महोत्सव व्यवस्थापन सल्लाहकार समिति संयोजक लवबहादुर शाहीले बताए ।”
पत्रकार सम्मलेनमा रेडियोका संस्थापक अध्यक्ष समेत रहनु भएका रेडियोका सल्लाहकार संयोजक बुद्धिप्रसाद खनालले महोत्सवलाई आम्दानी र खर्च तथा फाईदाको रुपमा हेर्नु भन्दा पनि यसलाई मनोरञ्जन र व्यापारका साथै पर्यटन प्रर्वद्धन सँग खोज्नुपर्नेमा सुझाब दिए ।
रेडियोका लेखा समिति संयोजक मोतिप्रसाद उपाध्यायले अरु संस्था र रेडियोले आयोजना गर्ने हरेक कार्यक्रम छुट्टै भिन्नता छ र हुनु पर्ने पर्ने बताए । सामुदायिक रेडियोले आयोजना गरेका हरेक कार्यक्रममा आर्थिक पारदर्शिता हुनुपर्ने बताउँदै मूल आयोजक समितिले समयमै आयव्यय सार्वजनिक गरि आम नागरिकहरूलाई जानकारी पाउने हक सुनिश्चित गरेकोमा धन्यबाद समेत दिए ।
महोत्सव शान्तीपूर्ण रूपले सभ्य र भव्य तरिकाबाट सम्पन्न भएको बताउँदै महोत्सव मूल आयोजक समितिका सदस्य गणेशराज ओलीले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।
कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक युवराज न्यौपानेले महोत्सव सफल पार्न सहयोग गर्ने सबै प्रति हार्दिक आभार व्यक्त गदै रेडियोले सञ्चालन गर्ने हरेक गतिविधिमा सबैको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गरे ।
महोत्सवमा आम्दानी भएको कुल रकम मध्य बाट १० लाख रुपैयाँ बढी उठ्न बाँकी रहेको रेडियोले जनाएको छ । शनिवार बसेको रेडियो सञ्चालक समितिको बैठकले लम्की सञ्चार समुहको स्थापना दिवसको अवसर आगामी चैत्र १७ गते रेडियोको ९ औं वार्षिक साधारण सभा गर्ने समेत निर्णय गरेको छ ।