लम्की–३ फागुन
कैलालीमा ४२ औ मगर दिवस भव्य रुपमा मनाइने भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नं. २ कालिकापुर मगरटोलमा नेपाल मगर संघ जिल्ला समन्वय समिति कैलालीले मगर दिवसलाई भव्यरूपमा मनाउने भएको हो ।
‘‘मगर इतिहास, भाषा, संस्कृति र धर्म संरक्षण – सम्बद्र्धन मगरहरूको मूलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने नारा सहित कैलाली जिल्ला स्तरीय मगर दिवस हुने आयोजकले बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
कैलालीका १३ वटै स्थानीय पालिकाका मगरहरूको सहभागितामा मनाइने मगर दिवस फागुन १४ र १५ दुई सम्म सञ्चालन हुने छ ।
मगर समुदायका कला संस्कृतिको संरक्षण र सम्बद्र्धन का निमित्त संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति राखिने नेपाल मगर संघ जिल्ला समन्वय सचिवालय सदस्य वीर बहादुर घर्तिमगरले पत्रकार सम्मेलनमा जानकारी दिए ।मगर समुदायको नमती बाजा सुदूरपश्चिममा नरहेको हुँदा फागुन १५ गतेका दिन नमति बाजाको विधिवत रुपमा उद्घाटन गरिने समेत जानकारी दिए । दिवसलाई भव्यरूपमा मनाउनका लागि स्थानीय पालिकाले सहयोग प्रदान गर्ने बताए ।
फागुन १४ गते मगर समुदायको पौराणिक खेलहरू छेलो ( सटफुट ),भुरुङ,ज्याभलिङ थ्रो र लिगलिग दौड हुने मगर संघका जानकारी कार्यसमिति अध्यक्ष बजिर सिह थापा मगरले जानकारी दिए ।