ललिता मलाती
मुम्बई –१६ फागुन
भारतको महाराष्ट्र स्थित मुम्बईको हस्पिटलमा एक नेपाली अलपत्र अवस्थामा छन । नेपालको सिरा गाविस शिवनगर वडा नं.१ घर बताउने अन्दाजी ४० बर्षिया त्रिभुवन मण्डल मुम्बई स्थित साइन हस्पिटलमा अलपत्र रहेका हुन ।
महाराष्ट्रको कल्याणमा काम गर्दै आएका उनी केही दिन अघि काम गर्दैगर्दा बिल्डिङको छतबाट खसेका थिए । बिल्डिङको छतबाट खसे पछि उनको छातीमा रगत जमेको छ भने मेरुदण्डको हड्डीमा गम्भिर चोट लागेको नेपाली समाज कल्याण संघ रजी मुम्बई का महासचिव विक्रम तिखात्रीले जानकारी दिएका छन ।काम गर्दै गर्दा चोट लागेर एक नेपाली घाईते भएको र मालिकले वास्ता नगरेको खबर पाए पछि हामी त्यहाँ पुग्यौ महासचिव विक्रम तिखात्री भने । घाइते अवस्थामा रहेका उनी उपचार नपाएर अस्पतालमा छटपटाइरहेका थिए । सम्बन्धित मालिकलाई भेटेर दबाब दिए पछि बीस हजार रुपैयाँ मालिकले दिए र उपचार भइरहेको छ । उनको उपचारमा नेपाली समाज कल्याण संघ रजी मुम्बई सांस्कृतिक सचिव शरद आउजी ले पनि आर्थिक सहयोग गरेका छन ।
घाइते अवस्थामा रहेका त्रिभुवन मण्डलको साथमा श्रीमती मुना आलेमगर र ७ बर्षिया छोरी मनिता मण्डल छन । श्रीमती मुना आले मगर राम्रो सँग बोल्न नजान्ने हुँदा नेपाल घर कहाँ हो आफन्तहरू कहाँ छन भन्ने यकिन हुन नसकेको नेपाली समाज कल्याण संघ रजी मुम्बई का महासचिव विक्रम तिखात्रीले बताए । घाईते अवस्थामा रहेका त्रिभुवन मण्डलको परिवारलाई चिन्ने जो कोहीले पनि सम्पर्क गरि सहयोग गरिदिन उनले अनुरोध गरेका छन ।