लम्की-१८ चैत्र
कर्णाली पुल स्थित कैलालीको चिसापानीमा स्ट्रिट फुड फेस्टिभल यही चैत ३० गतेबाट सुरु हुने भएको छ ।
लम्कीचुहा उद्योग वाणिज्य संघको आयोजनामा लम्कीचुहा–३ चिसापानीमा यही चैत ३० गतेदेखि २०८१ बैशाख २ गतेसम्म चिसापानीमा स्ट्रिट फुड फेस्टिभल हुने भएको हो । चिसापानीमा आज ९आइतबार० एक पत्रकार सम्मेलन गर्दै स्ट्रिट फुड फेस्टिभल कार्यक्रमका संयोजक जनक बहादुर शाहीले जानकारी दिए ।
‘सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको लम्कीचुहाको चिसापानी प्राकृतिक एवं वातावरणीय दृष्टिले आफैमा निक्कै सुन्दर रहेको छ । यस क्षेत्रमा प्रसिद्ध धार्मिक स्थल कैलाशधाम, चन्द्रमौलेश्वर, पर्यटकीय क्षेत्र चिसापानी कर्णाली, राजकाँडा, जलमार्ग सहितको रमणीय क्षेत्र भएपनि यसको आवश्यक प्रचार प्रसार हुन सकेको छैन् । पर्यटकीय सम्भावना निक्कै भएपनि पर्यटकीय पूर्वाधारको कमी र राज्यको न्यून लागानीको कारण चिसापानीले चाहे जस्तो पर्यटक पाउन सकेको छैन् ।,’ कार्यक्रम संयोजक शाहीले भने, ‘स्ट्रिट फुड फेस्टिभलको आयोजनाबाट यस क्षेत्रको पर्यटन, आर्थिक, संस्कृतिका एवम् सामाजिक विकासका साथै सुदूरपश्चिमको प्रवेशद्वारमा रहेको चिसापानी र यस आसपास रहेका पर्यटनको सम्भावनालाई थप टेवा पुग्ने भएकाले सो उद्देश्य परिपूर्तिका लागि र सुदूरपश्चिमको विकासका सम्भावना तथा अवसरहरूलाई राष्ट्रिय रूपमा पहिचान र विकासका लागि चिसापानी स्ट्रिट फुड फेस्टिभल २०८१ को आयोजना गरिन लागिएको छ ।’
त्यस्तै संयोजक शाहीले कर्णाली ताजा माछाका विभिन्न परिकार सहित स्थानीय विभिन्न स्वादिष्ट परिकारहरू फेस्टिभलमा उपलब्ध हुने भएकाले उक्त फेस्टीवलमा उपस्थित हुन अनुरोध समेत गरेका छन् ।
स्ट्रिट फुड फेस्टिभलमा कर्णालीका माछा सहित थारू, मगर जाती लगायतका स्थानीय परिकारहरूलाई पनि स्थान दिनु पर्ने लम्कीचुहा नगरपालिकाका प्रवक्ता तथा वडा नं। ३ का अध्यक्ष लव बहादुर शाहीले बताए । ‘ मानसरोवरबाट बगेर आउने नदी कर्णाली नदीमा हुन स्ट्रिट फुड फेस्टिभल हुन लागेको छ । यसले चिसापानी सहित समस्त सुदूरपश्चिम प्रदेशको पर्यटनमा निक्कै महत्वपूर्ण कदम हो । निक्कै राम्रो कार्यक्रम हुन लागेको छ । स्थानीय सरकारको तर्फबाट हुन सक्ने सहयोग गर्न हामी तयार छौं ।,’ प्रवक्ता शाहीले भने, ‘कर्णाली चिसापानी माछाका लागि प्रसिद्ध त छँदै छ त्यसमा यहाँका थारू, मगर लगायतका स्थानीय जातीहरूका परिकारहरूलाई उचित स्थान दिएर अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउन आवश्यक छ ।’
त्यस्तै स्ट्रिट फुड फेस्टिभल–०८१ का खेलकुद संयोजक घनश्याम डाँगीले नयाँ अवधारणा अनुसार पर्यटन र खेलकुदलाई एउटै ठाउँमा राख्दै स्ट्रिट फुड फेस्टिभल–०८१ हुन लागेको बताए । चिसापानीमा जिल्ला बाहिरदेखि टिमका सहभागितामा फुटबल पेनाल्टी सुट आउट र बिच भलिबल प्रतियोगिता हुनाले पर्यटनमा टेवा पुग्ने अपेक्षा लिएको खेल संयोजक डाँगीको भनाई रहेको थियो ।