लम्की–२७ जेठ
नेकपा (एमाले) लम्कीचुहा नगरकमिटीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।नगर कमिटीको दोस्रो नगर अधिवेशनबाट नेतृत्व चयनमा सहमति हुन नसके पछि आईतवार (आज) जेठ २७ गते निर्वाचन हुने भएको हो । जेठ १९ गते भएको दोस्रो अधिवेशन पछि पार्टीका नेताहरूले सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि निकै कसरत गरेका थिए ।लामो समय सहमतिको रस्साकस्सी पछि पनि सहमति हुन नसके पछि निर्वाचन हुदैछ ।निर्वाचनका लागि अहिले शेर बहादुर बिष्ट र बल बहादुर भण्डारी गरि २ वटा प्यानल चुनावी मैदानमा छन ।
अध्यक्षका उम्मेदवार शेर बहादुर बिष्ट प्यानलमा उपाध्यक्ष बल बहादुर खत्री ,सचिवमा मीन बहादुर रावल , उप सचिवमा ( महिला ) तनु भण्डारी लिम्बु र उप–सचिवमा (पुरुष)मा नारायण भण्डारी छन् ।अर्का अध्यक्षका उम्मेदवार बल बहादुर भण्डारी प्यानलको उपाध्यक्षमा मिना जैसी, सचिवमा टेक बहादुर खडका, उपसचिवमा (महिला) विमला न्यौपाने र उप–सचिव मा ( पुरुष) घनश्याम डाँगी छन् ।
आइतबार हुने निर्वाचनमा २१६ जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रियामा सहभागिता जनाउने छन् ।
निर्वाचनको मतदान प्रक्रिया आईतवार (आज) बिहान ११ बाट सुरु हुने छ । निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जानकारी दिएको छ ।