अक्षर साथी
लम्की-३० मंसिर
लम्कीका फुटबल खेलाडी कपिल ढकालले व्यक्तिगत १ करोड भन्दा बढी लगानी गर्दै तयार गरिएको लम्की फुटसल सञ्चालनमा आएको छ ।
सो फुटसलको आज आइतवार एक कार्यक्रममा गर्दै नगर प्रमुख सुशीला शाहीले उद्घाटन गरेकी छन् ।
फुटबलर कपिल ढकाल आफैमा एक व्यवसायीक खेलाडी समेत हुन् । काठमाडौंमा व्यवसायीक रुपमै फुटबल खेलमा सहभागी रहेका खेलाडी ढकाल कोरोनाकालमा आफ्नो गृह पालिका लम्कीचुहामा आएका थिए । सोही समयमा स्थानीय फुटबल खेलाडीको खेल प्रतिको लगाव र क्षमता देखेपछि आफूले यहाँकै खेलाडी भाइ बहिनिहरूलाई सहयोग गर्नुपर्छ, उनीहरूमा रहेको क्षमतालाई बाहिर ल्याउनु पर्छ भन्दै फुटसलको योजना बनाएको बताए । नेपालको सबैभन्दा ठूलो फुटसल निर्माण गर्दै सञ्चालनमा ल्याउन पाउँदा आफू निक्कै खुसी रहेको बताउँदै सरोकारवालाबाट सहयोगको अपेक्षा रहेको समेत बताए ।
त्यस्तै उद्घाटन कार्यक्रमका अतिथि तथा किसान बहुउद्देश्यीय सहकारी संस्थाका महा प्रबन्ध डम्मर बहादुर शाहले नेपालमा केही हुँदैन, केही भइरहेको छैन भन्ने समयमा युवाकै लगानीमा फुटसल सञ्चालनमा आउनु निक्कै सुखद रहेको बताए, त्यस्तै शाहले फुटसल सञ्चालनमा आउनुले लम्की क्षेत्रमा नयाँ आयाम थपिएकोमा खुशी पनि व्यक्त गरेका छन् ।
काठमाडौं तथा धनगढी क्षेत्रमा देखिने यस्ता नौला किसिमका फुटसल जस्ता कुराहरू लम्कीमा पनि सञ्चालनमा आउँदा यस क्षेत्रका लागि राम्रो कुरा रहेको लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईंले बताए । फुटसलको अभिभावक्तव ग्रहण गर्न
स्थानीय सरकारलाई आग्रह गर्दै अध्यक्ष चौलागाईंले लम्की क्षेत्रका व्यापारीबाट तन, मन र धनले सहयोग हुने बताए ।
कार्यक्रमकी प्रमुख अतिथि तथा लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले नगरपालिकाले वार्षिक ६५ लाख रुपैयाँ खेलकुद क्षेत्रमा लगानी गर्दै आएको बताइन् । फुटसलमा गर्न सकिने सहयोग गर्न आफू तयार रहेको बताउँदै यस्ता नयाँ किसिमका सोचले सफलता पाउने कुरामा विश्वत रहेको बताइन् ।
त्यस्तै कार्यक्रमका सहभागीले युवा विदेश पलायन भइरहेको अवस्थामा नेपालमै केही गर्नुपर्छ भन्दै नौलो काम गरेको कपिक ढकाललाई धन्यवाद पनि व्यक्त गरेका छन् ।
१० वर्षमा १० राष्ट्रिय खेलाडी उत्पादन
१० वर्षमा १० खेलाडी उत्पादन गर्ने कपिलको लक्ष्य छ ।
आगामी १० वर्षमा फुटबलतर्फका १० जना राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेका कपिलले आफ्नै लगानीमा यो फुटसल सञ्चालनमा ल्याएका हुन् । अहिले पनि ४० जना खेलाडीलाई नि:शुल्क प्रशिक्षण दिइरहेका खेलाडी कपिलको अपेक्षा भनेको सरोकारवालाका सहयोगमा छ भने नसकेको अवस्थामा अनावश्यकको असहयोग पनि न होस् भन्ने छ । आफूलाई सहजरुपमा फुटसल सञ्चालनमा ल्याउन दिए, यसको विकास र प्रचारमा सहयोग भएको अवस्थामा १० वर्षमा १० राष्ट्रिय खेलाडी उत्पादन गर्ने ग्यारेन्टीको दाबी कपिलको छ ।
के हो फुटसल ?
फुटसल भनेको इनडोर फुटबलको एक प्रकार हो, जुन साना मैदानमा खेलिन्छ। यसलाई विशेष रूपमा पाँच-पाँच जना खेलाडीको टोलीले खेल्ने गरिन्छ, जसमा चार जना आउटफिल्ड खेलाडी र एक जना गोलकिपर हुन्छन्। लम्कीको यो फुटसलमा भने यसरी पाँच-पाँच जना खेल्ने मैदान तीन वटा रहेका छन् । यसरी यो नेपालको सबैभन्दा ठूलो इन्डोर फुटसल हो । फुटसलको मुख्य विशेषताहरू यस्ता छन्:
-मैदान: फुटसल खेल्नका लागि प्रयोग गरिने मैदान फुटबलको तुलनामा सानो हुन्छ, र यो प्रायः हल वा बन्द ठाउँमा बनाइन्छ।
-बल: फुटसलको बल फुटबलको बलभन्दा सानो र कम बाउन्स हुने प्रकारको हुन्छ।
-खेल समय: यो खेल दुई हाफमा खेलिन्छ, प्रत्येक हाफ २० मिनेटको हुन्छ।
– नियम: खेलमा सामान्यतया कुनै अफसाइड नियम हुँदैन, र खेल तीव्र गतिमा खेलिन्छ।
– रणनीति: खेलाडीहरूको कौशल, पासिङ, र छिटो निर्णय क्षमतामा विशेष ध्यान दिइन्छ।
फुटसलले फुटबल खेल्नका लागि कौशल सुधार्न मद्दत गर्दछ र मनोरञ्जनका लागि पनि लोकप्रिय छ। यो अहिले व्यापक रूपमा खेलिन थालिएको छ।