लम्की -३० माघ
कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित महिला जागरण सामुदायिक वन उपभोक्ता समूह क्षेत्रको डुडेझारीमा एक वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ।सामुदायिक वनमा घाँसे मैदान सफा गर्ने क्रममा वन हेरालु धर्म घिमिरे र गंगाराम नाथले असह्य दुर्गन्ध महसुस गरेपछि खोजी गर्दा चितुवाको शव भेटिएको थियो। चितुवाको शरीरमा किरा परिसकेको र अत्यधिक दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको उनीहरूले बताए।
घटनाबारे जानकारी प्राप्त गरेपछि महिला जागरण सामुदायिक वनकी अध्यक्ष जल्पादेवी विष्टले सबडिभिजन वन कार्यालय, लम्कीलाई खबर गरिन्।
वन हेरालु गंगाराम नाथका अनुसार यस सामुदायिक वन क्षेत्रमा यसअघि तीन पाटेबाघ र दुई चितुवा देखिएका थिए। ती वन्यजन्तुहरूले गाउँ क्षेत्रमा प्रवेश गरी बाख्रा तथा कुकुर आक्रमण गर्ने गरेको स्थानीय बासिन्दाहरू बताउँछन्।
हाल सबडिभिजन वन कार्यालय, लम्कीको टोली घटनास्थलमा पुगेको छ र आवश्यक अनुसन्धान गरिरहेको छ।