लम्की-७ चैत्र
कैलालीमा एक शिक्षकलाई विद्यार्थीलाई चिट चोराउन सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा प्रश्नपत्र हल गरी विद्यार्थीलाई पठाइरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।
लम्कीचुहा नगरपालिका–२ स्थित राष्ट्रिय नमुना माध्यमिक विद्यालय परीक्षा केन्द्रबाहिरबाट प्रश्नपत्र हल गर्दै विद्यार्थीको म्यासेन्जरमा पठाइरहेको अवस्थामा सरस्वती मावि, कौवापुरका शिक्षक दिपेन्द्र धमालालाई इलाका प्रहरी कार्यालय मोतिपुरले पक्राउ गरेको हो। उनलाई परीक्षा केन्द्रबाट झन्डै १५० मिटर टाढा भेटिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय नमुना माध्यमिक विद्यालयका अध्यक्ष प्रेम बयकले यस घटनाप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले विद्यार्थीहरूले आफ्नो विवेक प्रयोग गर्ने समयमा शिक्षक स्वयं चिट चोराउन लाग्नु अत्यन्त निन्दनीय कार्य भएको बताए। साथै, उनले यस्ता घटनालाई रोक्न राज्य गम्भीर बन्नुपर्ने सुझाव दिएका छन्।
अनुसन्धानका क्रममा अछामका विद्यार्थी महेन्द्र धमलाले परीक्षा सकेर शिक्षक धमलालाई प्रश्नपत्र पठाएको पाइएको छ। शिक्षक धमलाले आफूले मात्र प्रश्नपत्र हल गरेको दाबी गरेका छन्।
यस घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख लोकेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।