लम्की-१४ चैत्र
कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुरका कमल रावलमाथि खुकुरी प्रहार गर्ने समूहका एक जना युवक पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय अनुप शाहीलाई बिहीबार नियन्त्रणमा लिएको हो।
गत चैत २ गते शनिबार राति करिब ८ बजे रावलमाथि योजनाबद्ध रूपमा १२–१३ जनाको समूहले आक्रमण गरी खुकुरी प्रहार गरेको थियो। उक्त घटनामा गम्भीर घाइते भएका रावल हाल उपचाररत छन्।
प्रहरीका अनुसार घटना भएको दिन नै अनुसन्धान थालिए पनि संलग्न कसैलाई तत्काल नियन्त्रणमा लिन सकिएको थिएन। झन्डै दुई सातापछि एक जनालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख लोकेन्द्र बहादुर सिंहले घटनामा संलग्न अरू व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका शाहीले आफूलाई कमल रावलले अपहरण तथा यातना दिएको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरी रावलको घरमा पुगेका बेला झगडा भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।