प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको छ” – मुख्यमन्त्री शाह

लम्की-१४ चैत्र
कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित व्यवस्थितनगर खेलमैदानमा प्याराफिट निर्माणका लागि शिलान्यास गरिएको छ। प्रदेश सरकारको झण्डै एक करोड रुपैयाँको लागतमा बन्न लागेको यो प्याराफिटको शिलान्यास सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका छन्।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश सरकार खेलकुद क्षेत्रको विकासका लागि गम्भीर रहेको बताएका छन्। उनले सबै जिल्लामा आवश्यकता अनुसार बजेट विनियोजन गरिएको जानकारी गराएका छन्। सोही योजनाअन्तर्गत व्यवस्थितनगर खेलमैदानमा प्याराफिट निर्माण हुन लागेको बताएका छन्।
मुख्यमन्त्री शाहले पछिल्लो समय सुदूरपश्चिमका खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बनाएको पहिचानको उच्च कदर गर्दै खेलाडीहरूको सम्मानलाई प्रदेश सरकारले प्राथमिकता दिइरहेको बताएका छन्। उनले टीकापुरमा स्पोर्ट्स एकेडेमी निर्माण भइरहेको जानकारी गराउँदै धनगढी लगायतका विभिन्न खेल संरचनाहरूको स्तरोन्नति गरिने विश्वास व्यक्त गरेका छन्।
नयाँ प्याराफिट निर्माण भएसँगै व्यवस्थितनगर खेलमैदानमा २ हजारभन्दा बढी दर्शकहरूले खेलकुद गतिविधि सहज रूपमा अवलोकन गर्न सक्ने छन्। लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष लभ बहादुर शाहीले खेलकुद विकाससँगै नगरका अन्य पूर्वाधार निर्माणमा मुख्यमन्त्री शाहको तदारुकताले खुसी लागेको बताएका छन्।
यसअघि पनि प्रदेश सरकारले व्यवस्थितनगर खेलमैदानको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको थियो। आगामी दिनमा खेलकुद पूर्वाधारको थप विस्तार गर्ने प्रदेश सरकारको योजनाले स्थानीय खेलाडी, खेलप्रेमी तथा नागरिकहरू उत्साहित भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *