लम्की–६ बैसाख
नेकपा (माओवादी केन्द्र) लम्कीचुहा नगर कमिटीको निर्वाचन सम्पन्न भएको छ।शनिवार लम्की स्थित पाहुन घरमा नगर कमिटीको निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा नगर कमिटीको अध्यक्षमा कमल बहादुर भुल (सुरेश) निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी रामप्रसाद भण्डारीलाई १ मतको साँघुरो अन्तरले पछि पार्दै भुल विजयी भएका हुन्।
५० जना मतदाता रहेको उक्त निर्वाचनमा ४८ जनाले मात्र मतदान गरेका थिए। अध्यक्ष पदका लागि कमल बहादुर भुलले २२ मत प्राप्त गरे भने रामप्रसाद भण्डारीले २१ मतमा सीमित रहे। बाँकी ५ मत बदर भएको जानकारी प्राप्त भएको छ।
उपाध्यक्ष पदमा बालाराम जैसी, सत्य बहादुर बिष्ट र कमल खनाल विजयी भएका छन्। विशेषतः कमल खनाल र ललित बुसालको मत बराबर भएपछि गोला प्रथाबाट निर्णय गरिएको थियो, जसमा कमल खनालले जित हासिल गरे।
नगर सचिवमा केशव शर्मा निर्वाचित भएका छन् भने सह–सचिव पदमा टीकाराम तिमिल्सेना, कोषध्यक्षमा पद्मा के सी विजयी भएका छन्।
यसअघि गत पुस १२ गते लम्कीचुहा नगर कमिटीको निर्वाचन सम्पन्न भए पनि उक्त प्रक्रिया पूर्ण रूपमा विधिसम्मत नभएको भन्दै केन्द्रीय निर्वाचन आयोगले उक्त निर्वाचन रद्द गरी नयाँ निर्वाचनको मिति बैशाख ६ गते तोकेको थियो। त्यसअनुसार शनिवार नयाँ निर्वाचन सम्पन्न गरिएको हो।
निर्वाचित नगर कमिटीका पदाधिकारीलाई शनिवार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ।