दैलेखको राकममा करेन्ट लागेर युवकको मृत्यु, स्थानीय आक्रोशित

दैलेख राकम -२१बैशाख
दैलेखको राकममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। आइतबार साँझ करिब ६ बजे आठबीस नगरपालिका–४, राकमका २७ वर्षीय नगेन्द्र माझीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

घर नजिकैको रुखमा घाँस काट्दै गर्दा माझीले काटेको हाँगाले हाइटेन्सन लाइनको तार छोएपछि करेन्ट लागेर उनको ज्यान गएको इलाका प्रहरी कार्यालय राकमका प्रमुख प्रहरी नायब निरीक्षक छत्र ढकालले जानकारी दिए।

सुर्खेत–कालिकोट जोड्ने ११ हजार भोल्ट क्षमताको हाइटेन्सन लाइन कर्णाली राजमार्गको बस्ती हुँदै बिस्तार गरिएको छ। तर, स्थानीयले नेपाल विद्युत प्राधिकरणले लापरबाहीपूर्वक लाइन विस्तार गर्दा दुर्घटना भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।

घटनापछि आक्रोशित स्थानीयले मृतकको शव उठाउन दिएका छैनन्। घटनाको सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध नगरिएसम्म शव नउठाउने अडान उनीहरूले राखेका छन्।

मृतक माझी कैलालीको टीकापुरमा सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका थिए। नयाँ वर्ष मनाउन र परिवार भेट्न उनी चैत्र २९ गते मात्रै राकम आएका थिए, उनका बुबा नन्दा माझीले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *