दैलेख राकम -२२ बैशाख
दैलेखको राकममा करेन्ट लागेर नगेन्द्र माझीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अवरुद्ध गरेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। सोमबार बिहानैदेखि मृतकका आफन्त र स्थानीयले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए।
घटनाको छानबिन गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि राजमार्ग सुचारु भएको इलाका प्रहरी कार्यालय राकमले जानकारी दिएको छ।राजमार्ग अवरुद्ध हुँदा राकम बजार आसपास छोटो तथा लामो दूरीका सवारी साधन रोकिएका थिए भने सयौं यात्रुहरू अलपत्र परेका थिए। विद्युत प्राधिकरणसँगको छलफल र सहमतिपछि स्थानीयहरूले शव उठाउन दिने र राजमार्ग खुलाउने निर्णय लिएका हुन्। यसअघि आइतबार साँझ घर नजिकैको रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा हाँगा ठोकिँदा करेन्ट लागेर २७ वर्षीय माझीको मृत्यु भएको थियो। घटनाले स्थानीयबीच विद्युत प्राधिकरणप्रति तीव्र असन्तोष सिर्जना गरेको छ।