बजार
लम्की बजारमा अनुगमन: म्याद गुज्रिएका वस्तु भेटिए, व्यवसायीलाई जरिवाना
लम्की खबर
२०८३ कार्तिक १७, मङ्गलबार
लम्की खबर

कैलालीको लम्की बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ। चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको गुणस्तर, मूल्यवृद्धि तथा कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय र खाद्य तथा गुण नियन्त्रण कार्यालय कैलालीले संयुक्त रूपमा बजार अनुगमन गरेको हो।
अनुगमनका क्रममा फेन्सी पसल, दूध डेरी, होटल तथा चाउमिन उद्योगहरूको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा केही म्याद गुज्रिएका खाद्यवस्तु फेला पर्नुका साथै मूल्यसूची नराखिएको र उत्पादन मिति उल्लेख नभएका वस्तुहरू पनि भेटिएको वाणिज्य कार्यालयका प्रमुख पदमराज अवस्थीले जानकारी दिए। पहिलो पटकका लागि सम्बन्धित व्यवसायीलाई सम्झाइबुझाइ गरी सामान्य जरिवाना गरेर छोडिएको उनले बताए।
चाडपर्वका समयमा अखाद्य वस्तुको बिक्री वितरण तथा कालोबजारी हुन सक्ने भएकाले नियमित कार्ययोजनाअन्तर्गत दशैँतिहार लक्षित गरी कैलालीका विभिन्न बजारमा अनुगमन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।
चाडपर्व लक्षित यस्ता अनुगमनले अखाद्य वस्तुको बिक्री वितरण र कालोबजारीलाई केही समयका लागि नियन्त्रण गरेजस्तो देखिए पनि त्यसले दीर्घकालीन समाधान दिन सक्दैन।‘स्वच्छ र प्रतिस्पर्धी बजारः उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारालाई सार्थक बनाउने हो भने चाडपर्वमा मात्र नभई नियमित रूपमा बजार अनुगमन र नियमन गर्न सम्बन्धित निकाय उत्तिकै चनाखो हुन आवश्यक देखिन्छ।
