समाचार
लम्की महोत्सव–२०८३ सुरु
कैलालीको लम्कीमा लम्की महोत्सव–२०८३ सुरु भएको छ। कैलाली क्षेत्र नं. २ का संघीय सांसद केपी खनालले बिहीबार आयोजित समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन्।
लम्की खबर
२०८३ मंसिर ११, शुक्रबार
लम्की खबर
कैलालीको लम्कीमा लम्की महोत्सव–२०८३ सुरु भएको छ। कैलाली क्षेत्र नं. २ का संघीय सांसद केपी खनालले बिहीबार आयोजित समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद खनालले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय विकासका लागि आलोचनाभन्दा सहकार्य आवश्यक रहेको बताए। उनले चिसापानीदेखि मोहन्याल हुँदै बर्दगोरियासम्म जोड्ने रणनीतिक सडक र लम्कीमा ट्रमा सेन्टर स्थापनाको काम अघि बढिरहेको जानकारी दिए।
कार्यक्रमका विशिष्ट अतिथि संघीय सांसद प्रेमबहादुर बयकले महोत्सवले स्थानीय व्यापारलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रदेशसभा सदस्य रामेश्वर चौधरीले डुडेझारीमा औद्योगिक क्षेत्र स्थापना गर्न कानुनी अवरोध रहेको बताए।
त्यस्तै, निवर्तमान जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा र निवर्तमान नगर प्रमुख महादेव बजगाईले महोत्सवले व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बताए। बजगाईले क्षेत्र नं. २ मा ठूला विकास आयोजना आउन नसकेको विषयसमेत उठाएका थिए।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा शिक्षा क्षेत्रमा प्रमेश्वर कार्की, सञ्चार क्षेत्रमा बुद्धिमान जैसी (वसन्त) र कृषि क्षेत्रमा मायाराम जैसीलाई सम्मान गरिएको थियो। संघका महासचिव पुष्पराज ढकालले पाँचबुँदे ज्ञापनपत्रसमेत सांसद खनाललाई बुझाएका थिए।
लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष दीपक कुमार तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न समारोहमा उनले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजारीकरण, व्यापार विस्तार र पर्यटन प्रवर्द्धनसँग जोड्ने उद्देश्य रहेको बताए।
‘समुन्नत लम्कीचुहाको आधार : कृषि, शिक्षा, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सवमा ६० हजार दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।
मंसिर १० देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवको साधारण टिकट १०० रुपैयाँ, विद्यार्थी टिकट ८० रुपैयाँ र सिजनल टिकट ७०० रुपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ।
