राजनीति
आईजीपी हटाउने हल्लाले हेडक्वार्टरमा तरंग
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार डाकेको उच्च अधिकृतहरूको आकस्मिक बैठक ५ घण्टासम्म चल्यो, बैठकमा संगठनविरुद्धका सवालमा एकजुट भएर सामना गर्ने प्रतिबद्धता
लम्की खबर
२०८३ कार्तिक १३, शुक्रबार
लम्की खबर

काठमाडौँ — सरकारले प्रहरी प्रमुखलाई हटाउन चाहेको चर्चा सार्वजनिक भइरहेका बेला महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार आकस्मिक रूपमा उच्च अधिकृतहरूको बैठक बोलाए । प्रहरी मुख्यालय नक्सालमा दिउँसो २ बजेदेखि ७ बजेसम्म चलेको बैठकमा काठमाडौंमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षकसहित नायब महानिरीक्षक (डीआईजी) भन्दा माथिल्लो तहका अधिकारी सहभागी थिए ।
आईजीपी कार्कीलाई हटाउने तयारी सरकारले गरेको विवरण सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयमा तरंग उत्पन्न भएको थियो । आईजीपी कार्कीले आकस्मिक छलफलका लागि भन्दै उच्च अधिकृतहरू सम्मिलित पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका थिए । प्रदेशमा कार्यरत डीआईजीलाई पनि तत्काल उपस्थित हुन भन्दै काठमाडौं बोलाइएको थियो ।
बैठकपछि प्रहरीले विज्ञप्ति जारी गर्यो, जसमा ‘चालबाजी गर्नेमाथि कारबाही गर्ने’ चेतावनी दिइएको छ । ‘सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच बनाएका केही सीमित व्यक्तिको चालबाजीलाई प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने व्यहोरासमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार आईजीपी कार्कीले संगठनविरुद्ध पछिल्लो समय प्रहार भइरहेको भन्दै एकजुट हुनुपर्ने धारणा राखेका थिए । प्रहरीको व्यावसायिकता, छवि र प्रतिष्ठामाथि आँच पुर्याउने गरी गतिविधि भइरहेको भन्दै उनले सबैलाई एकजुट हुन भनेका थिए । ‘उहाँले संगठनबाहिरका केही व्यक्तिको नाम नै लिएर सचेत गराउँदै आन्तरिक विषय बाहिर लगेर छताछुल्ल नपार्न सबैलाई भन्नुभयो,’ ती अधिकारीले भने ।
