राजनीति
नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न शुक्रबार आयोग जाँदै कांग्रेस
बिहीबार शपथलगत्तै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई नवनिर्वाचित पदाधिकारी र सदस्यको आवश्यक विवरण संकलन गरी निर्वाचन आयोगमा पेस गर्ने अख्तियारी दिएको छ ।
लम्की खबर
२०८३ कार्तिक १३, शुक्रबार
लम्की खबर

काठमाडौं — कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको छ । त्यसका लागि आवश्यक विवरण संकलन गरी आयोगमा पेस गर्न बिहीबार शपथलगत्तै बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई अख्तियारी दिएको छ ।
राजनीतिक दलसम्बन्धी कानुनअनुसार पार्टीको केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि त्यसको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था छ । कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पदाधिकारी तथा सदस्यहरूको तस्बिरसहितको विवरण संकलन र अन्य आवश्यक कागजात तयार भए शुक्रबार नै आयोगमा अद्यावधिक गराइनेछ । त्यसमा ढिलाइ भए सोमबार मात्रै प्रक्रिया अघि बढ्ने उनले बताए । ‘महाधिवेशन सम्पन्न भएर निर्वाचनबाट आएका पदाधिकारी तथा सदस्यहरूको विवरणसम्बन्धी कागजात मिलाउने काम भइरहेको छ,’ आचार्यले भने ।
कांग्रेसको १८ देखि २३ असोजसम्म खुलामञ्चमा सम्पन्न १५औं महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बिहीबार शपथ सम्पन्न भएलगत्तै सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पहिलो केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । सोही बैठकले निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउन कार्यवाहक मुख्यसचिव दुलाललाई अख्तियारी दिने निर्णय गरेको हो ।
अर्कोतर्फ आफूहरू नै आधिकारिक कांग्रेस रहेको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेको छ । वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न गरेको देउवा पक्षले १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने तयारी गरिरहेको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिने आफ्नै फैसलामाथि पुनरावलोकनको निस्सा दिएपछि कांग्रेसको आधिकारिकतासम्बन्धी कानुनी विवाद अझै टुंगिएको छैन ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले ४ वैशाखमा सदर गरेको थियो । त्यसविरुद्ध पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अलग-अलग पुनरावलोकन निवेदन दिएका थिए ।
ती निवेदनमाथि सर्वोच्चले पुनरावलोकनको निस्सा दिएको हो । त्यसको अन्तिम टुंगो नलाग्दै कांग्रेसको १५औं महाधिवेशन सम्पन्न भएको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले महाधिवेशन सम्पन्न गरेपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनको तयारीमा लागेको हो । देउवा पक्षले आगामी २१ देखि २३ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ ।
बिहीबारको बैठकमा सभापति थापाले तिहार र छठपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक बसेर सबै पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरिने बताएका थिए । बाढीपहिरोबाट मुलुकले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको अवस्थामा चाडबाडका नाममा खादा-माला लगाएर तडकभडक नगर्न पनि उनले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्देशन दिएका थिए । नागरिकसँग जोडिने सामाजिक काममा सहभागी हुन उनले आग्रह गरेका थिए ।
