अर्थतन्त्र
नेपाल–भारत सीमा सुरक्षा निकायको १०औं समन्वय बैठक काठमाडौंमा सुरु बुधबारदेखि शुक्रबारसम्म चल्ने बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण र दुई देशबीचको समन्वय सुदृढीकरणबारे छलफल हुनेछ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा आपसी सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औं द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा दशगजा अतिक्रमण, सीमा स्तम्भ संरक्षण, मानव तस्करी, लागूऔषध तथा अवैध हातहतियार ओसारपसार नियन्त्रण र विपद् जोखिम न्यूनीकरणबारे छलफल हुनेछ। बैठकले नेपाल–भारत सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
काठमाडौं — सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच द्विपक्षीय समन्वय बैठक सुरु काठमाडौंमा सुरू भएको छ । बुधबार सुरू भएको बैठक शुक्रबारसम्म चल्नेछ । सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी), भारतबीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औं द्विपक्षीय समन्वय बैठक आयोजना गरिएको हो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा जारी बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायतका प्रतिनिधिको सहभागिता छ । नेपालको तर्फबाट बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग तथा नापी विभागका प्रतिनिधिको सहभागिता रहेको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, भारतीय पक्षबाट गृह मन्त्रालय, विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च पदस्थ अधिकृतहरूको सहभागीता रहेको प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बल (एसएसबी), भारतका महानिर्देशक संजय सिंघलले गरेका छन् ।
बैठकमा सीमाको प्रभावकारी सुरक्षा व्यवस्थापन, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, मानव तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण, अवैध हातहतियार तथा अन्य सामाग्रीहरुको तस्करी नियन्त्रण र सीमा क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्ने विषयमा हालसम्म भईरहेको समन्वयात्मक प्रयासहरुको समीक्षा हुनेछ ।
बैठकमा सीमा व्यवस्थापन संयन्त्रले निर्दिष्ट गरेको मार्गदर्शनको आधारमा दशगजाको अतिक्रमण हटाउने, सीमा स्तम्भहरुको संरक्षण, मर्मत सम्भार तथा निर्माण, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा सीमापार प्रभाव पार्न सक्ने महामारी र विपदको जोखिम न्यूनीकरण गर्न नियमित समन्वय बैठक, तत्काल सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । साथै सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकसँगको सम्बन्धलाई सुदृढ बनाउन र सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल, भारतबीच आपसी सम्बन्ध तथा सहकार्य बढाउन मैत्रीपूर्ण खेलकुदलगायतका आपसी समन्वय अभिवृद्धि केन्द्रित गतिविध सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ ।
द्विपक्षीय बैठकले नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा र सदभाव कायम गर्न दुवै सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
