लम्कीचुहामा फागुन १३ गते देखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने

मंगल बास्कोटे
लम्की–०९ फागुन

कैलालीको लम्कीचुहा नगरपालिकाले फागुन दोस्रो साता देखि दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।केन्द्र सरकारको अभियान अन्तरगत नगरपालिकाले फागुन १३ गते देखि बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने भएको हो ।बुधवार नगरपालिकाको स्वास्थ्य शाखाले पालिका स्तरीय एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्दै दादुरा–रुवेला विरुद्धको राष्ट्रिय खोप अभियानको विषयमा जानकारी दिएको छ ।

नगरपालिका भित्रका नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिन लागेको स्वास्थ्य शाखा प्रमुख जयन्ती बि.सि ले जानकारी दिएकी छन । फागुन १३ गते देखि सुरु हुने अभियानलाई ७ भित्रमा सक्ने उद्देश्य छ ।अभियानलाई प्रभावकारी बनाउनका लागि यो पटक नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि ८४ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप अभियान सञ्चालन गर्ने उनले बताइन ।
गोष्ठीमा नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि ,स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंमसेविका को उपस्थिति रहेको थियो ।
सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ  सञ्चालन हुन लागेको खोप अभियानमा शतप्रतिशत बालबालिकालाई उपस्थित गराउनका निमित्त आ–आफ्नो ठाउँबाट लाग्ने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए ।
फागुन १३ गते देखि सञ्चालन हुने खोप अभियान चैत्र ७ गते सम्म सञ्चालन हुने छ । देश भरका ५१ वटा जिल्लाका ५७ हजार बालबालिकामा  दादुरा–रुवेला विरुद्धको खोप लगाइने छ ।

दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रमण रोग हो ।यो रोग कुनै पनि उमेरका मानिसमा लाग्न सक्छ ।तर पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । खोप द्धारा बचाउन सकिने रोगमध्ये बालबालिकाको मृत्यु गराउने एक प्रमुख कारण दादुरा रोग हो ।दादुरा रोग लागे पछि निमोनिया ,झाडापखाला ,मेनिन्जाइटिस ,कुपोषण जस्ता जटिलताहहरुले बालबालिकाको ज्यान लिन सक्दछ भने छिटो भन्दा छिटो महामारीको रूप लिन पनि सक्दछ ।

दादुरा–रुवेलाको संक्रमण भए ज्वरो आउने र शरीरमा राता बिमिरा देखा पर्ने ,रुघा खोकीको लक्षण चिन्हहरू ( नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने ,रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेला को लक्षण देखा पर्दछ ।
लम्कीचुहा नगरपालिकामा अझै ५० प्रतिशत बालबालिकाहरुलाई  दादुरा–रुवेला विरुद्धको खोप लगाउन बाकी रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *