मितिDateताजा अपडेट
Lamki Khabar Logo

लम्की खबर

सत्य, तथ्य र निष्पक्ष समाचार

राजनीति

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गर्दै टाढिएका मतदातासँग पुनःसंवाद थाल्नुपर्ने बताएका छन्। उनले पाका नेताको अनुभव र युवाको ऊर्जालाई संयोजन गर्दै गाउँ–गाउँमा खटिन तथा आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोटको अधिकार तल्लो तहलाई दिने प्रतिबद्धता व्यक्त गरे।

लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा
पोखरा — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित सम्मान कार्यक्रममा सभापति थापाले पार्टीबाट टाढिएका मतदाताको घरदैलोमा पुगेर कांग्रेसले पुनःसंवाद थाल्ने जानकारी दिए । उनले ११३औँ बिपी जयन्तीका अवसरमा विगतमा कांग्रेससँग आबद्ध रहेका तर पछिल्लो समय अलग भएका परिवारसँग विशेष अभियान सञ्चालन गरी जोडिनुपर्ने धारणा राखेका हुन् । सभापति थापाले भने, 'दुई लाखभन्दा बढी परिवारहरु अहिले हामीसँग अलग हुनुभएको छ । ती अलग भएका परिवारलाई हामीले खोज्नुपर्‍यो । उहाँहरुसँग संवाद गर्नुपर्‍यो ।” पार्टीमा २० देखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै सभापति थापाले पाका नेताको अनुभव र युवाहरुको ऊर्जाको संयोजनबाट मात्र नतिजा हासिल हुने स्पष्ट पारे । आफ्नो चार वर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले नेताहरुलाई भड्किलो शैली त्यागेर गाउँ–गाउँमा खटिन निर्देशन दिए । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिइने सभापति थापाले बताए । सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्‍याएका गण्डकी प्रदेशका ११ जिल्लाका एक/एक जनालाई सम्मान गरेका थिए । सम्मातिन हुनेहरुमा नवलपुरका सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट छन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।