राजनीति
प्रदेश र स्थानीय तह चुनावका लागि नजिकिँदै ओली–दाहाल
प्रदेश र स्थानीय तह निर्वाचनमा सहकार्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले गृहकार्य थालेका छन्। दुवै दलले स्थानीय तथा जिल्ला कमिटीमार्फत गठबन्धनको आधार तयार गर्न तल्ला तहलाई अनौपचारिक निर्देशन दिएका छन्। प्रदेश सरकारमा सुरु भएको सहकार्यलाई सडक, संसद् र आगामी निर्वाचनसम्म विस्तार गर्दै वामपन्थी मतको क्षयीकरण रोक्ने दुवै नेताको तयारी छ। तर तत्काल पार्टी एकता गर्ने सम्भावना नरहेको दाहालले स्पष्ट पारेका छन्
लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
काठमाडौँ — प्रदेश र स्थानीय तह चुनावमा सहकार्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले गृहकार्य थालेका छन् । दुवै दलले चुनावी गठबन्धनका लागि पार्टीका तल्ला कमिटीलाई समझदारीको खाका बनाउन अनौपचारिक निर्देशन दिएका हुन् ।
गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा कमजोर जनमत पाएपछि ओली र दाहालले प्रदेश सरकारबाट सहकार्य थालेका थिए, जसअनुसार ५ प्रदेशमा एमाले र नेकपाबीच सत्ता साझेदारी छ । वामपन्थी मतको थप क्षयीकरण रोक्ने र राजनीतिक प्रभाव बढाउने उद्देश्यले सहकार्यलाई निर्वाचनसम्म निरन्तरता दिने प्रयास भइरहेको दुवै दलका नेताहरूको भनाइ छ ।
गत साता ओली र दाहालबीच सहकार्यका विषयमा कुराकानी भएको थियो । ३० असोजमा एमालेले कांग्रेस नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुई नेताबीच छलफल भएको हो । ‘आगामी दिनमा वामपन्थी शक्तिसँग सहकार्य गर्ने गरी दुई नेताबीच निरन्तर कुराकानी भइरहेको छ,’ ओलीनिकट एक नेताले भने, ‘प्रदेश सरकारमा भएको सहकार्यलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने गरी आधार तय हुँदै छ ।’
सहकार्य भए संसद् र सडकबाट सरकारलाई दबाब दिने ओली र दाहालको तयारी छ । नेताहरू माथिको अनुसन्धान, सुकुमवासी विस्थापन र ट्रेड युनियन खारेज गर्नेलगायतका सरकारी निर्णयविरुद्ध दुवै दलको साझा धारणा छ ।
दुई पार्टीबीच थप विश्वास आर्जन गरी स्थानीय र प्रदेश निर्वाचनसम्म सहकार्यको आधार बनाइनेछ, यस पटक माथिबाट नभई स्थानीयस्तरमा बलियो समझदारी बनाउन गृहकार्य भइरहेको छ : भानुभक्त ढकाल, एमाले सचिव०७४ को आमनिर्वाचनमा एमाले र तत्कालीन माओवादीबीच गठबन्धन भएको थियो । निर्वाचनको नतिजापछि दुवै पार्टी एक भएका थिए । यस पटक भने केन्द्रबाट गठबन्धनको खाका तय गर्नुभन्दा जिल्ला तथा स्थानीय पार्टी कमिटीमार्फत समझदारी निर्माण गर्ने प्रयास भइरहेको छ । एमाले सचिव भानुभक्त ढकालले नेकपासँग प्रदेश सरकारमा सत्ता साझेदारी भइसकेकाले बलियो आधार तयार गरी स्थानीय तह र प्रदेश निर्वाचनमा सहकार्य गरिने बताए । ‘दुई पार्टीबीच थप विश्वास आर्जन गरी स्थानीय र प्रदेश निर्वाचनसम्म सहकार्यको आधार बनाइनेछ,’ उनले भने, ‘यस पटक माथिबाट नभई स्थानीयस्तरमा बलियो समझदारी बनाउन गृहकार्य भइरहेको छ ।’
दुई दलबीच राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा र आममानिसले भोग्दै आएको महँगीलगायतका विषयमा पनि साझा कार्यक्रम बनाउने तयारी छ । नेकपा नेता वर्षमान पुनले दुई दलबीच प्रदेश सरकारबाट सहकार्यको ढोका खुलिसकेको बताए । ‘हामीले सहकार्य सुरु गरिसकेका छौं । आगामी दिनमा सडक, सदन र चुनावसम्म पनि सहकार्यको ढोका खुलिसकेको छ,’ उनले भने, ‘संविधान, लोकतन्त्रको रक्षालगायतका विषयमा पनि एमालेसँग सहकार्य गर्ने भनेका छौं ।’
हामीले सहकार्य सुरु गरिसकेका छौं । आगामी दिनमा सडक, सदन र चुनावसम्म पनि सहकार्यको ढोका खुलिसकेको छ, संविधान, लोकतन्त्रको रक्षालगायत विषयमा सहकार्य गर्ने भनेका छौं : वर्षमान पुन, नेकपा नेताशनिबार दुईमहिने राजनीतिक अभियान सुरु गर्दै दाहालले एमालेसँग सहकार्य सुरु भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका थिए । ‘लोकतन्त्र संकटमा छ, राष्ट्रियता, लोकतान्त्रिक अधिकार संकटमा छ । यसको रक्षाका लागि जो–जोसँग मिल्न सकिन्छ, मिल्न तयार छौं,’ उनले भने, ‘यसको अर्थ तत्काल एमालेसँग पार्टी एकता हुने सम्भावना छैन । इतिहास, पृष्ठभूमिका सम्बन्धमा हामीले धेरै समीक्षा गर्नुछ ।’
यसअघि १८ असोजमा नेकपा बागमती प्रदेश समितिको कार्यक्रममा पनि दाहालले वामपन्थीहरूबीच सहकार्यका लागि समझदारी भइसकेको बताएका थिए । ‘एमाले र मसालसँग सहकार्य गरेर जाने त समझदारी नै गरिसकेका छौं,’ उनले भनेका थिए, ‘अन्य देशभक्त र वामपन्थीसँग पनि निरन्तर छलफल गरिरहेका छौं ।’
१४ असारमा एमालेका पूर्वमहासचिव मदन भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा एउटै मञ्चमा सहभागी भएपछि ओली र दाहालले सार्वजनिक रूपमै सहकार्यबारे धारणा राखेका थिए । ओलीले पनि वामपन्थी शक्तिबीच सहकार्यको आवश्यकता औंल्याउँदै आएका छन् । उनले असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकमा नेकपासँग सहकार्य गर्न सकिने बताएका थिए ।
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा पनि सहकार्यका लागि आह्वान गरिएको छ । ‘प्रतिकूल परिस्थितिमा राष्ट्रिय हितको रक्षा, लोकतन्त्र र संविधानको जगेर्ना एवं जनताका हितका प्रश्नमा सार्थक संवाद, सहकार्य र एकताका लागि एमाले सबै देशभक्त, लोकतन्त्र र संविधानका पक्षधर राजनीतिक दल, नागरिकहरू एवं बौद्धिक समुदायमा आह्वान गर्छ,’ निर्देशनमा भनिएको छ ।
जेन–जी आन्दोलन, २४ भदौको प्रदर्शन र २१ फागुनको निर्वाचनपछि लोकतन्त्र संकटमा परेको उल्लेख गर्दै ओलीले वामपन्थीसहित लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउँदै आएका छन् । ‘वामपन्थी शक्ति कमजोर गर्ने काम भइरहेको छ । प्रतिगमन रोक्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेछ,’ ओलीले असार दोस्रो साता भनेका थिए, ‘यतिबेला (सरकारले) प्रतिगमन गरेर हैरान छ । प्रतिगमन रोक्ने मुख्य काम हो । सबै वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर जानुपर्छ ।’
०७४ को निर्वाचनमा भरोसा गरेर दिएको करिब दुईतिहाइ मतलाई एमाले र तत्कालीन माओवादीले जोगाउन सकेका थिएनन् । ओली र दाहालबीचको शक्ति संघर्षका कारण त्यो राजनीतिक शक्ति छिन्नभिन्न भएको थियो । ०७४ को निर्वाचनमा एमाले र तत्कालीन माओवादीले झन्डै दुईतिहाइ अर्थात् १७४ सिट जितेका थिए । समानुपातिकतर्फ दुवै दलले करिब ४७ प्रतिशत मत पाएका थिए । ०७९ को निर्वाचनमा भने यी दुई दलको मत करिब ४२ प्रतिशतमा झरेको थियो ।
त्यसअघि ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी, एमाले र अन्य वामपन्थी दलले करिब ६० प्रतिशत मत पाएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनीहरूको मत करिब ४२ प्रतिशत थियो ।
हाल प्रतिनिधिसभामा एमालेका २५ र नेकपाका १७ सिट छन् । समानुपातिकतर्फ एमालेले १३.४४ र नेकपाले ७.४९ प्रतिशत मत पाएका थिए । दुवै दलको मत जोड्दा २०.९३ प्रतिशत हुन्छ । आगामी निर्वाचनमा गठबन्धन नगरे वामपन्थी मत गुम्ने जोखिम रहेको भन्दै ओली र दाहालले चुनावी सहकार्यको गृहकार्य थालेको नेताहरूको भनाइ छ ।
गंगा बीसी कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।
