राजनीति
एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्, 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।'
लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)ले नयाँ उचाइ लिँदै गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनाएकी छन् ।
सोमबारबाट सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणको सन्दर्भमा मन्त्री गौतमले आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । 'आजबाट सुरु हुने नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिँदै छ । एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो,' मन्त्री गौतमको भनाइ छ ।
एनपीएलले नेपालमा ओझेलमा परेका क्रिकेट खेलाडीहरूलाई अवसर दिएको मन्त्री गौतमको भनाइ छ । 'नेपालका कुनाकन्दरामा ओझेलमा परेका प्रतिभाहरूलाई विश्वस्तरीय खेलाडीहरूसँग एउटै मैदानमा उभ्याउने यो मञ्चले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउनुका साथै हजारौँ युवाको आत्मविश्वास बढाउने र सपनालाई नयाँ उडान दिनेछ,' मन्त्री गौतमको विश्वास छ ।
एनपीएलको सफल आयोजनाले निजी क्षेत्रलाई अवसर र खेललाई उत्सवका रूपमा प्रस्तुत गरेको पनि मन्त्री गौतमको भनाइ छ । 'सरकारले उचित वातावरण सिर्जना गरिदिने हो भने निजी क्षेत्रले सम्भावनालाई उद्योगमा, प्रतिभालाई अवसरमा र खेललाई राष्ट्रिय उत्सवमा बदल्न सक्छ भन्ने उत्कृष्ट उदाहरण एनपीएल बनेको छ,' उनले भनेकी छन् ।
एनपीएलमा सहभागी सबै टीम, खेलाडी, आयोजकलाई मन्त्री गौतमले शुभकामना दिएकी छन् । 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ,' मन्त्री गौतमले भनेकी छन् ।
