मितिDateताजा अपडेट
Lamki Khabar Logo

लम्की खबर

सत्य, तथ्य र निष्पक्ष समाचार

राजनीति

समानान्तर महाधिवेशन गर्न देउवा पक्षले अझै पाएन ठाउँ| फोहोर हुने भन्दै खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्न काठमाडौं महानगरपालिकाले नदिने, भृकुटीमण्डपमा माइकिङ गर्न नपाइने सर्त

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले २१–२३ मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी गरे पनि आठदेखि १५ हजार सहभागी अट्ने स्थान अझै तय गर्न सकेको छैन। खुलामञ्चमा अनुमति नपाएपछि भृकुटीमण्डपसहितका विकल्पमा छलफल भइरहेको छ। वडा, प्रदेश र निर्वाचन क्षेत्रका अधिवेशनहरू अझै पूरा नभए पनि देउवा पक्षले तोकिएकै मितिमा महाधिवेशन गर्ने दाबी गरेको छ। महाधिवेशनमा निर्वाचित, पदेन, मनोनीत तथा विभिन्न संस्थाबाट गरी आठ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने संरचना बनाइएको छ।

लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
समानान्तर महाधिवेशन गर्न देउवा पक्षले अझै पाएन ठाउँ|  फोहोर हुने भन्दै खुलामञ्चमा सार्वजनिक कार्यक्रम गर्न काठमाडौं महानगरपालिकाले नदिने, भृकुटीमण्डपमा माइकिङ गर्न नपाइने सर्त
काठमाडौं — कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले समानान्तर महाधिवेशन गर्ने स्थान अझै तय गर्न सकेको छैन । काठमाडौंमा २१–२३ मंसिरमा महाधिवेशन गर्ने देउवा समूहको तालिका छ तर कुन ठाउँमा गर्ने भन्ने टुंगो लाग्न सकेको छैन । संस्थापन पक्षले महाधिवेशन गरेको खुलामञ्च नै प्रयोग गर्न देउवा समूहले पनि चाहेको थियो । तर काठमाडौं महानगरपालिकाले कांग्रेस महाधिवेशनका बेला फोहोर पारिएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ । संस्थापन पक्षले १८–२३ असोजमा खुलामञ्चमा महाधिवेशन गरेको थियो । खुलामञ्चमा अनुमति नपाइने भएपछि विभिन्न विकल्पको खोजी भइरहेको देउवापक्षीय नेता किरण पौडेलले बताए । उनका अनुसार दोस्रो विकल्प भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल थियो । ‘त्यसमा समेत महानगरपालिकाले माइकिङ गर्न नदिने सर्त अघि सारिएको छ,’ उनले भने, ‘महाधिवेशनस्थलको खोजी जारी छ ।’ खुलामञ्चमा अनुमति नपाइने भएपछि विभिन्न विकल्पको खोजी भइरहेको छ । दोस्रो विकल्प भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल थियो । त्यसमा समेत महानगरपालिकाले माइकिङ गर्न नदिने सर्त अघि सारिएको छ । महाधिवेशनस्थलको खोजी जारी छ । -नेता किरण पौडेल पौडेलका अनुसार महाधिवेशनमा करिब आठ हजार प्रतिनिधि हुनेछन् । ‘आठ हजार प्रतिनिधि र उद्घाटन कार्यक्रममा आउने अरूसमेत गर्दा १०/१५ हजार जना अट्ने ठाउँ चाहिन्छ,’ उनले भने । देउवा पक्षले १५ कात्तिकमा जिल्ला र ४ मंसिरमा प्रदेश अधिवेशन सक्ने तालिका ल्याएको थियो । तर तालिकाअनुसार वडा, गाउँ/नगर, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन नै सकिएको छैन । निर्वाचन समितिका संयोजक एकराज पोखरेलले दसैं अगाडिसम्म १ सय १२ निर्वाचन क्षेत्र र ६ हजार वडाको अधिवेशन भएको दाबी गरेका छन् । कुल वडा संख्या ६ हजार ७ सय ४३ छ । दसैंपछि थप चार निर्वाचन क्षेत्रमा अधिवेशन सकिएको पोखरेलले बताए । तनहुँलगायतका केही जिल्लाले १५ कात्तिकसम्मै क्षेत्रीय अधिवेशन राखेका छन् । ‘बाँकी प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन धमाधम हुँदै छ,’ पोखरेलले भने । वडाबाट निर्वाचित भएर आउने क्षेत्रीय प्रतिनिधि जिल्ला अधिवेशनसम्मका प्रतिनिधि हुन्छन् । प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि प्रदेश महाधिवेशन र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि केन्द्रीय महाधिवेशनका मतदाता हुन्छन् । पोखरेलका अनुसार बाढी प्रभावित रसुवामा अन्तरिम व्यवस्था हुने भनिएकाले त्यहाँ कुनै पनि अधिवेशन गरिने छैन । समितिका अनुसार सबैभन्दा बढी सुदूरपश्चिममा अधिवेशन भएको छ । त्यसपछि लुम्बिनी र कर्णाली प्रदेशमा भएको छ । सबैभन्दा कम अधिवेशन मधेश प्रदेशमा भएको छ । ‘जिल्ला अधिवेशन हुने बेलासम्ममा बाँकी सबै वडाका समेत अधिवेशन सकिन्छ,’ समितिका संयोजक पोखरेलले भने । मधेश प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाउन ढिलाइ भएकाले वडा अधिवेशन र क्षेत्रीय अधिवेशन गर्न केही ढिलाइ भएको उनको भनाइ छ । नेता पौडेलले केही दिनभित्र सबै निर्वाचन क्षेत्रको अधिवेशन सकिने भएकाले महाधिवेशनको तालिका प्रभावित नहुने बताए । ‘हामी तोकिएकै मितिमा महाधिवेशन गर्छौं,’ उनले भने । देउवा पक्षले समानान्तर महाधिवेशनमा प्रतिनिधिको संख्या आठ हजारमाथि हुने संरचना बनाएको छ । यो संस्थापनले हालै गरेको महाधिवेशनमा सहभागी प्रतिनिधिभन्दा बढी हो । देउवा पक्षले प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले प्रतिनिधि चयन गर्ने व्यवस्था गरेको छ । देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट ५ हजार ७७५ जना प्रतिनिधि आउने पौडेलले बताए । क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति र पालिका सभापतिलाई पदेन प्रतिनिधि बनाउने व्यवस्था छ । देशभरका १६५ क्षेत्रीय सभापति, ७७ जिल्ला सभापति, ३३० प्रदेशसभा क्षेत्रीय सभापति र ७ सय ५३ पालिका सभापति गरी १ हजार ३ सय २५ जना पदेन प्रतिनिधि हुनेछन् । निर्वाचित र पदेन जोड्दा ७ हजार १ सय प्रतिनिधि पुग्नेछन् । त्यसबाहेक विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि प्रतिनिधित्व गराउने व्यवस्था छ । पूर्वसभापति देउवाले ३ सय प्रतिनिधि मनोनयन गर्न पाउने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा, राष्ट्रिय सभामा उम्मेदवार भएका वा विजयी भएका पूर्वसांसद, संविधानसभा सदस्यसमेतलाई महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्था थप गरिएको छ । ‘विधानको व्यवस्थाअनुसार नै हेर्ने हो भने त ८ हजारभन्दा बढी नै प्रतिनिधि हुनेछन् । तर सहभागी कति हुनेछन् यकिन भन्न सकिने अवस्था अहिल्यै छैन,’ देउवापक्षीय अर्का एक नेताले भने, ‘१५ कात्तिकसम्म नै क्षेत्रीय अधिवेशन छ । कति निर्वाचन क्षेत्रमा अधिवेशन हुन सक्छ, कतिमा हुँदैन भन्नेले पनि महाधिवेशन प्रतिनिधिको संख्या निर्क्योल गर्नेछ ।’ देउवा पक्षको महाधिवेशन कहाँ पुग्यो ? देउवा पक्षको महाधिवेशन कहाँ पुग्यो ? कांग्रेस संस्थापले विधान संशोधन गरेर तलैदेखि सहभागिता र समावेशिताको क्षेत्र विस्तार गरेको थियो । देउवा पक्षले पनि त्यसैको सिको गरेको गरेर प्रतिनिधि संख्या बढाएको हो । निर्वाचन समितिले जारी गरेको निर्देशिकाअनुसार महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दा प्रत्येक निर्वाचन क्षेत्रबाट खुलातर्फ चार महिलासहित १४ जना, समावेशी ‘क्लस्टर’ बाट १० जना, १८ देखि २८ वर्ष उमेर समूहका नवयुवाबाट एक महिलासहित दुई जना र ४० वर्षमुनिका युवाबाट एक महिलासहित दुई जना प्रतिनिधि चयन गर्ने व्यवस्था छ । अपांगता भएका व्यक्तिबाट एक, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवारबाट दुई, विज्ञ तथा श्रमिकबाट दुई र अन्य समूहबाट दुई जनासमेत गरी प्रत्येक निर्वाचन क्षेत्रबाट ३५ प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ ।