कर्णाली पुल बन्दपछी सुनसान चिसापानी, जोखिममा ५ सय बढी होटल श्रमिकको रोजगार

अक्षर साथी
लम्की–२ चैत्र

पूर्वी नेपालको ताप्लेजुङबाट रोजगारीको सिलसिलामा जाजरकोट पुगेका १९ वर्षीय सबिन लिम्बू भुकम्पका कारण जाजरकोटको रोजगारी गुमाए । तिनै लिम्बू तीन महिना अघि मात्र सुदूरपश्चिमको पर्यटकीय क्षेत्र कर्णाली पुल रहेको चिसापानीको लुक होटलमा काम पाए । ‘क्याप्टन वेटर’ को रूपमा लुक होटलमा काम गर्दै आएकाले उनले मासिक १२ हजार तलब र ‘टिप्स’ सहित २० हजारसम्म कमाउँदै आएका थिए । मासिक २० हजारसम्म कमाउँदै आएका सबिनको रोजगरी पुन जोखिममा परेको छ । कर्णाली पुल बन्द भएपछि चिसापानी बजार सुनसान हुँदा सबिन जस्तै चिसापानीका ८० होटलका पाँचसय भन्दा बढी होटल श्रमिकको रोजगारी जोखिममा परेको चिसापानी बजार व्यवस्थापन समितिका अध्यक्ष जनक शाही बताउँछन् ।
‘२८ गते कर्णाली पुलको आगलागीको घटनापछि पुल बन्द भएको छ । पुल बन्द भएपछि चिसापानी बजार निक्कै सुनसान बनेको छ ।’ अध्यक्ष शाहीले भने, ‘पुल बन्द भएपछि यसको सबैभन्दा बढी मार होटल व्यवसायमा परेको छ । चिसापानीमा ८० भन्दा बढी होटल छन् जसमा पाँचसय भन्दा बढी होटल श्रमिक छन् । होटल बन्द गर्नुपर्ने अवस्था आएपछी अधिकांश होटल व्यावसायीले श्रमिकलाई बिदामा राखेका छन् । होटलमा काम गर्ने पाँच सय भन्दा बढी श्रमिकको रोजगारी जोखिममा परेको छ ।’
कर्णाली पुल हुँदै दैनिक ५ सयको हाराहारीमा ओहोर दोहोर गर्ने सवारी लम्की–टीकापुर–सत्ती–राजापुरको वैकल्पिक मार्ग प्रयोग गर्न थालेपछी होटल सञ्चालकले कामदारलाई बिदामा राख्नेदेखि सटरनै बन्द गर्नेसम्म थालेका छन् । दैनिक ७० हजारसम्मको कारोबार गर्दै आएका होटल व्यावसायीको आम्दानी अहिले शुन्यमा आएपछी यस्तो गर्नुपर्ने अवस्था आएको होटल सञ्चालक बताउँछन् । ‘आगलागीको घटना अघि २५ हजारसम्मको माछा, १५ हजारसम्मको खाना, १५ हजारसम्मका पेय पदार्थ र १५ हजारसम्मकै कोठा भाडागरि दैनिक जसो ७० हजारसम्मको कारोबार हुने गरेको थियो । आठ जना कर्मचारी राखेर हामीले होटल सञ्चालन गर्दै आएका थियौं ।’ चिसापानी स्थित लुक होटलका सञ्चालक भन्छन्, ‘आगलागीका कारण कर्णाली पुल बन्द भएपछि अहिले आठ जान मध्य छ जनालाई बिदामा राखेका छौं । धेरै दिन यस्तै भयो भने होटल सञ्चालकहरूले सटर लगाउनु पर्ने अवस्था आएको छ ।’
त्यस्तै चिसापानी बजार व्यवस्थापन समितिका अध्यक्ष जनक शाहीले चैत ३ गतेसम्ममा पुल सञ्चालनमा ल्याइने जानकारी प्राप्त भएको बताए । त्यस्तैले आफूहरू चैत ३ गतेको प्रतीक्षामा रहेको समेत अध्यक्ष शाहले जानकारी दिए ।
त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं. ३ मा अध्यक्ष लव बहादुर शाहीले पनि चैत ३ गते पुल सञ्चालनमा आउने दाबि गरे । ‘आगलागीबाट कर्णाली पुलमा क्षति भएको विषयमा सम्बन्धित कार्यालय चेक जाँच भएको छ । पूर्वता जस्तै पुल सञ्चालनमा ल्याउने की केही फेरबदल गर्ने कुरामा सहमति हुँदै छ । चैत ३ गते कर्णाली पुल सञ्चालनमा आउने छ ।’ अध्यक्ष शाहीले दाबी गरे ।
यही फागुन १८ गते अपराह्न लाइटर बोकेर विराटनगरबाट कञ्चनपुर आउँदै गरेको ट्रकमा एक्कासि आगो लागेको थियो । आगो कर्णाली पुलका तारहरूमा आगो सल्किएको थियो । पुलका दाया बाँयातर्फका ७÷७ वटा तारहरूमा आगो सल्किएको थियो । आगलागीको अर्को दिन बिहान अर्थात मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री क्षतिको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले पुलबाट तत्काल सवारीसाधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरे पछि कर्णाली पुलमा सवारी आवागमनमा रोक लगाइएको थियो ।

प्रज्वलनशील वस्तुहरूको ओसारपसार गर्दा अपनाउनुपर्ने सुरक्षा मापदण्डसँग सम्बन्धित व्यवस्था नै छैन
गृह मन्त्रालयले रासायनिक पदार्थको आयात, ओसारपसार, सञ्चय प्रयोग सम्बन्धी इजाजत प्रदान गर्ने कार्यविधि–२०७३ र विस्फोटक पदार्थको आयात, ओसारपसार सञ्चय र प्रयोग इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि–२०७३ बनाएको छ । तर त्यसमा सलाई, लाइटलगायत प्रज्वलनशील वस्तुहरूको ओसारपसार सम्बन्धी व्यवस्था नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *