राजनीति
आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि गरिएन
गायिका आनी छोइङ डोल्मामाथि २०७५ सालदेखि चलाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान न त टुंगिएको छ, न त औपचारिक रूपमा तामेलीमा राखिएको छ। यस्तो अवस्थामा उनलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरिएपछि निर्णयमाथि प्रश्न उठेको छ। हङकङबाट उनको खातामा आएको करिब १६ लाख ५० हजार अमेरिकी डलर शंकास्पद देखिएपछि रकम रोक्का र अनुसन्धान सुरु गरिएको थियो, तर दबाब र प्रक्रियागत विवादका बीच खाता फुकुवा भएको विवरण सार्वजनिक भएको छ। आनीले आफूलाई बदनाम गर्न सम्पत्ति शुद्धीकरण र १८ करोड रुपैयाँको विषय उठाइएको दाबी गरेकी छन् भने उनको नियुक्तिविरुद्ध लुम्बिनी बचाउ महाअभियानले विरोध जारी राखेको छ।
लम्की खबर
२०८३ कार्तिक ११, बुधबार
लम्की खबर
काठमाडौँ — बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान नटुग्याई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेको पाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि ८ वर्षअघि २०७५ सालमा अनुसन्धान अघि बढाएको थियो । विभाग स्रोतका अनुसार उनीमाथिको त्यतिबेलाको अनुसन्धान टुंगिएको छैन । ‘अनुसन्धान सुरु गरिसकेपछि केही नदेखिए अनुसन्धान गर्नु नपर्ने भनेर तामेलीमा राखिन्छ, केही कैफियत देखिए मुद्दा दायर गरिन्छ,’ विभागका एक उच्च अधिकारीले भने, ‘तर आनीको विषयको अनुसन्धान तामेलीमा पनि छैन, अनुसन्धान पनि भइरहेको छैन ।’
करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनीलाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेको हो । उनीमाथि अनुसन्धान गर्नुको सट्टा नियुक्त गरेको भन्दै विरोध भइरहेको छ ।
२५ वैशाख २०७५ मा तत्कालीन मेगा बैंक लिमिटेडको खाता नम्बर ००१xxxxx३९४२४ मा आएको रकमको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरणको विषयमा सूक्ष्म निगरानी राख्ने राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले अनुसन्धान गरेको थियो । त्यसको विवरण सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको थियो । त्यसमाथि विभागले आनीको खाता रोक्का राखी अनुसन्धान सुरु गरेको थियो । कान्तिपुर दैनिकले हङकङबाट आनीको खातामा १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर आएको र त्यो शंकास्पद देखिएपछि अनुसन्धान सुरु भएको विवरण सार्वजनिक गरेको थियो । विदेशबाट रकम भित्र्याउन अनुमति लिनुपर्नेमा कुनै पनि निकायलाई जानकारीसमेत नदिई तत्कालीन विनिमय दरअनुसार करिब २० करोड रुपैयाँ भित्र्याएको र थप १८ करोडभन्दा बढी रुपैयाँ भित्र्याउन खोजेको भन्दै राष्ट्र बैंक र विभागले रोकिदिएको थियो ।
विभागलाई राष्ट्र बैंकले अनुसन्धान गर्न २०७५ साउनमा पत्राचार गरेको थियो । ‘विभागमा त्यतिबेला जीवनप्रकाश सिटौला महानिर्देशक थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आनीमाथि अनुसन्धान नगर्न र खाता फुकुवा गर्न दबाब दिएका थिए । तर सिटौलाले नमानेपछि उनको कोशी प्रदेश सरुवासमेत भएको थियो,’ तत्कालीन अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘त्यसपछि रूपनारायण भट्टराई महानिर्देशक भएर आए । आनीको खाता खुलाउनका लागि राष्ट्र बैंकले २०७६/९/२७ मा उनीमाथिको थप अनुसन्धान के भइरहेको छ ? भनेर सोध्यो,’ ती अधिकारीले भने, ‘विभागले २०७६/१०/८ मा पत्र लेखेर आनीमाथिको अनुसन्धानले पूर्णता पाएको छैन । अनुसन्धान पूरा भएपछि मात्रै उनको बारेमा ठोस भन्न सकिन्छ भनेको थियो ।’ ती अधिकारीका अनुसार त्यही पत्रको अपव्याख्या गरी राष्ट्र बैंकले आनीको खाता फुकुवा गरेको हो । ‘अहिले पनि अनुसन्धान गर्नुपर्ने विषय हो,’ ती अधिकारीले भने ।
विभागले यसबारेमा अनुसन्धान गर्ने नगर्ने भन्ने विषयमा केही पनि निर्णय गरिसकेको छैन । ‘हामीले आनीको विषयमा अनुसन्धान नगर्ने भनेका छैनौँ । गरिरहेका पनि छैनौँ,’ विभागका ती उच्च अधिकृतले भने ।
आनीको बैंक खातामा तीन पटक आएको रकम रोक्का भएको थियो । आनीको खातामा हङकङका नागरिक लियाङ चुङ हाङ र जियोरीले पटक–पटक रकम जम्मा गरेको देखिएको थियो । हङकङका नागरिकले वैशाख २६ गते ५ लाख ७९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरेका थिए । त्यसको भोलिपल्टै ५ लाख ३९ हजार ९ सय ८० अमेरिकी डलर जम्मा गरे । फेरि अर्को दिन २०७५ वैशाख २८ गते ५ लाख २९ हजार ९ सय ८० डलर जम्मा भएको थियो । उक्त रकमको विवाद आएपछि तत्कालीन महानिर्देशक जीवनप्रकाश सिटौलाको सरुवा भएको थियो भने अर्का महानिर्देशक रूपनारायण भट्टराईलाई पनि फकुवाको दबाब दिइएको थियो ।
अर्थ मन्त्रालय मातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग केपी शर्मा ओली प्रधानमन्त्री भएलगत्तै आफू मातहत लगेर राखेका थिए । आनीले आफ्नो रकम रोकिएको दुई महिनापछि २०७५ साउनमा प्रधानमन्त्री ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रमका लागि एक करोड रुपैयाँ सहयोग गरेकी थिइन् । नेपाल टेलिभिजनबाट प्रसारित हुने ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उपस्थित भई आनीले एक करोड रुपैयाँ सहयोग घोषणा गरेकी थिइन् ।
आनीले सन् २००० देखि आनीहरूका लागि काठमाडौंको फर्पिङमा आर्यतारा विद्यालय सञ्चालन गर्दै आएकी थिइन् । पछिल्लो नियुक्तिबारे विवाद आएपछि आनीले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै स्पष्ट पार्ने कोसिस गरेकी छन् । उनले सम्पत्ति शुद्धीकरण र १८ करोडको विषय उठाएर बदनाम गर्ने अनि आपराधिक छविको बनाउने कोसिस भइरहेको दाबी गरिन् । उनले देशप्रति कुनै गलत नगरेको उनको तर्क थियो ।
उनले सम्पत्ति शुद्धीकरणबारे बुझ्न मन लागे सम्पत्ति शुद्धीकरण विभाग काठमाडौंमै रहेको र त्यहाँ गएर मुद्दा दायर भए, नभएको बारे बुझ्न सकिने बताइन् । उनले राष्ट्र बैंक पनि बालुवाटारमै भएकाले त्यही गएर बुझ्न सकिने बताइन् । उनले सत्य तथ्य खोजी गर्न सकिने उनको तर्क थियो । उनले आफू विचलित नभएको तर चिन्तित भएको बताइन् । आनीको नियुक्तिको विरोधमा रहेको पक्षले लुम्बिनी बचाउ महाअभियान नै गठन गरेर विरोध गरिरहेको छन् । ३१ असोजबाटै विरोधका कार्यक्रम गर्दै आएको अभियानका संयोजक अकरम खानले बताए ।
